लन्डन, अगष्ट ९ — नेपालको प्रख्यात लोक-रक ब्याण्ड नेपथ्य आज बेलायतको राजधानी लन्डनमा रहेको OVO एरेना वेम्ब्लीमा धमाकेदार प्रस्तुति दिने भएको छ।
कन्सर्ट साँझ ८:०० बजे सुरु हुने छ भने ढोका ६:०० बजेदेखि दर्शकका लागि खुला गरिनेछ। कार्यक्रमको आयोजना BSK Entertainment र Parcha Productionले गरेको हो।
यो नेपथ्यको वेम्ब्ली एरेनामा दोस्रो प्रस्तुति हो — यसअघि १२ वर्षअघि सन् २०१३ मा यहाँको स्टेजमा उनीहरूले ऐतिहासिक कार्यक्रम प्रस्तुत गरेका थिए। यसपटकको प्रस्तुति नेपथ्यको युरोप टुर को मुख्य आकर्षण मानिएको छ।
ब्याण्डले नेपाली लोक धुनलाई आधुनिक रक शैलीसँग मिश्रण गर्दै, देशप्रेम, प्रकृति, र समाजका कथाहरू संगीतमार्फत् प्रस्तुत गर्नेछ। लन्डन र आसपासका नेपाली समुदायका साथै अन्तर्राष्ट्रिय संगीतप्रेमीहरूको ठूलो उपस्थिति हुने अपेक्षा गरिएको छ।

Photo: OvoArena



