निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रधानमन्त्रीलाई खुला पत्र पठाउँदै बेलायती गोर्खा तथा गैरआवासीय नेपाली संघ, बेलायत र विश्वभर रहेका नेपाली समुदायको तर्फबाट यस्तो माग गरेका हुन् । पत्रमा निर्मल पुर्जाको असाधारण योगदानलाई नेपाल सरकारले औपचारिक रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ ।

पत्रमा पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएका पर्वतारोही निर्मल पुर्जा तथा उनीसँगै ज्यान गुमाएका नौ जना पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । साथै, उनका परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

एनआरएनए यूकेले निर्मल पुर्जालाई सामान्य पर्वतारोही मात्र नभई मानव साहस, अनुशासन, सेवा, नेतृत्व र असम्भवलाई सम्भव बनाउने इच्छाशक्तिको प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएको छ । उनको असाधारण उपलब्धिले नेपाललाई विश्वसामु गौरवका साथ चिनाउन महत्वपूर्ण योगदान गरेको पत्रमा उल्लेख छ ।

एनआरएनए यूकेले नेपाल सरकारसमक्ष निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । त्यस्तै, राष्ट्रिय सम्मानसहित राष्ट्रिय शोकसभा आयोजना गरी उनको योगदानप्रति राष्ट्रको कृतज्ञता र सम्मान औपचारिक रूपमा व्यक्त गर्न पनि आग्रह गरिएको छ ।

पत्रमा राष्ट्रिय शोक घोषणा गरी राष्ट्रिय झण्डा आधा झुकाउन तथा विश्वभर रहेका नेपाली दूतावास र कूटनीतिक नियोगमार्फत श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न निर्देशन दिनुपर्ने मागसमेत गरिएको छ । साथै, निर्मल पुर्जाको नाममा राष्ट्रियस्तरको स्मारक, अध्ययनवृत्ति वा प्रेरणा प्रतिष्ठान स्थापना गरी भावी पुस्ताका लागि उनको योगदानलाई संस्थागत गर्न आग्रह गरिएको छ ।

निर्मल पुर्जाले सन् २०१९ मा विश्वका १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल केवल ६ महिनाको अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको पत्रमा उल्लेख छ । उनले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमालको सफल आरोहण गरेका थिए । उनको जीवन केवल कीर्तिमानको कथा नभई मानवता, साहस, अनुशासन र सेवाको उदाहरण रहेको एनआरएनए यूकेको भनाइ छ ।

पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेसल बोट सर्भिस (SBS) का सदस्यका रूपमा समेत सेवा गरेका पुर्जाको राष्ट्रिय पहिचान सधैं नेपाली रहेको पत्रमा उल्लेख गरिएको छ । सुगौली सन्धि तथा नेपाल–बेलायत सन्धिअनुसार ब्रिटिश गोर्खा सैनिक नेपाली नागरिक नै भएकाले उनीहरूको योगदान नेपालको गौरव, इतिहास र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा भएको एनआरएनए यूकेको दाबी छ ।

असाधारण योगदान गर्ने व्यक्तिको सम्मान नागरिकता वा राष्ट्रियताको सीमित बहसमा संकुचित गर्नु हुन्न : अध्यक्ष गाहामगर

बालेन सरकारलाई ज्ञानपनपत्र बुझाउँदै अध्यक्ष गाहा मगरले नेपालका लागि असाधारण योगदान गर्ने व्यक्तिको सम्मान नागरिकता वा राष्ट्रियताको सीमित बहसमा राख्न नहुने बताएका छन्। राष्ट्रको प्रतिष्ठा र पहिचानलाई विश्वस्तरमा पुर्‍याउने योगदानको मूल्यांकन गर्दै राज्यले उचित सम्मान दिनुपर्ने उनको भनाई छ ।

‘निम्सदाइ विदेशी नागरिक हुनुहुन्थ्यो भने उहाँलाई राष्ट्रिय विभूति किन बनाउने?’ भन्ने प्रश्न उठ्न सक्ने भन्दै गाहा मगरले इतिहासमा नेपालले विदेशी नागरिकलाई समेत उनीहरूको योगदानका आधारमा उच्च सम्मान दिएको उदाहरण प्रस्तुत गरे ।

उनले सन् १९५३ मा तेन्जिङ नोर्गे र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि हिलारीले नेपाल र नेपाली हिमालका लागि पुर्‍याएको योगदानको स्मरण गरे । नेपालले हिलारीलाई उच्च सम्मान प्रदान गरेको र पछि मानार्थ नेपाली नागरिकतासमेत दिएको उल्लेख गर्दै गाहा मगरले उनको योगदानको सम्मानस्वरूप नेपालमा विभिन्न स्थान तथा संस्थासँग उनको नाम जोडिएको बताए ।

‘यदि नेपालका लागि योगदान गर्ने विदेशी नागरिकलाई हामी यति ठूलो सम्मान दिन सक्छौँ भने, नेपालकै माटोमा जन्मिएका निर्मल ‘निम्स’ पुर्जालाई किन राष्ट्रिय विभूति घोषणा गर्न नसक्ने?’ गाहा मगरको प्रश्न छ । ‘यो नागरिकताको विषयभन्दा माथि उठेर राष्ट्रका लागि उहाँले पुर्‍याउनुभएको असाधारण योगदानको सम्मान गर्ने विषय हो,’ उनले भने ।

राष्ट्रिय विभूति घोषणा गर्नु एउटा व्यक्तिलाई दिइने सम्मान मात्र नभई भावी पुस्ताका लागि प्रेरणाको सन्देशसमेत हुने गाहा मगरको भनाइ छ । ‘तिमीले राष्ट्रका लागि असाधारण योगदान गर्‍यौ भने राष्ट्रले तिमीलाई कहिल्यै बिर्सने छैन भन्ने सन्देश राष्ट्रिय विभूति घोषणाले आउने पुस्तालाई दिन्छ,’ उनले भने ।

एनआरएनए यूकेले निर्मल पुर्जाको जीवनले ‘असम्भव पनि सम्भव हुन्छ’ भन्ने विश्वास लाखौं मानिसमा जगाएको बताएको छ । उनका साहस, मानवता र सेवाको भावनाले भावी पुस्तालाई समेत प्रेरणा दिने पत्रमा उल्लेख छ ।

पत्रमा नेपालले एक महान् पर्वतारोही मात्र गुमाएको नभई राष्ट्रले आफ्नो गौरवशाली सन्तान, बेलायती गोर्खा समुदायले आफ्नो गौरव र विश्वले एक अद्वितीय प्रेरणाको स्रोत गुमाएको उल्लेख गरिएको छ । यस्ता व्यक्तित्व इतिहासमा विरलै जन्मिने भएकाले राष्ट्रले समयमै सम्मान गर्नुपर्ने एनआरएनए यूकेको भनाइ छ ।

एनआरएनए यूकेले निर्मल पुर्जालाई तत्काल राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानअनुसार सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न पुनः आग्रह गरेको छ । यस्तो सम्मान निर्मल पुर्जाको व्यक्तिगत सम्मान मात्र नभई नेपालको गौरव, इतिहास, राष्ट्रिय स्वाभिमान र विश्वसामु नेपाली पहिचानको सम्मान हुने पत्रमा उल्लेख गरिएको छ ।

https://drive.google.com/drive/folders/1c_9LcApSDO_0Z8CtOiG8Zbqu-1R-UHAD?usp=sharing

भवदीय,

प्रेम गाहा मगर
अध्यक्ष
एनआरएनए, यूके

Scroll to Top